काठमाडौं, माघ १५ । सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी पाँच वटा मुद्दाको आज सुनुवाई हुने भएको छ। अदालतको अवहेलनासम्बन्धी पाँच वटा मुद्दा न्यायाधिश डा। मनोजकुमार शर्माको इजलासमा परेको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।
त्यस्तैगरी, अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्।
प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पुर्याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ। अदालतको अवहेलनामा दोसी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।


























