काठमाडौं, माघ १४ । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन्। यस्तै अनु राई र सरिता शेर्पाले एक एक गोल गरिन्। कुसुमले खेलको १२ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरिन्।
खेलको ३२ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो। मिडफिल्डर अनुले चन्द्रपुरकी गोलरक्षक युनिशा अगाढी बढेको फाइदा उठाउदै चिप गोल गरिन्। दोस्रो हाफमा विराटनगरले थप तीन गोल गर्यो। खेलको ३६ औं मिनेटमा डिफेन्डर सरिताले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो। उनले डिबक्स बाहिरबाट दोस्रो बारमा आकर्षक गोल गरिन्।
खेलको ७४ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ४-० को अग्रता दिलाईन्। चन्द्रपुरको गोलरक्षक र डिफेन्डरबीचको तालमेल नमिल्दा उनले गोल गरेकी थिइन्। त्यसपछि खेलको ७५ औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै विराटनगरलाई ५-० को जित दिलाईन्। उनले काउन्टरमा गोल गरेकी थिइन्। जितसंगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ।
यस अघि विराटनगरले पहिलो खेलमा वालिङसँग १-१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७-० ले पराजित भएको थियो।
चन्द्रपुरको यो दोस्रो हार हो। चन्द्रपुरले ३ खेलमा ३ अंक जोडेको छ। चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो।


























