काठमाडौं, माघ १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ। बुधबार नेकपा प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्नामा बसेका हुन्।
असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनका निम्ति धर्ना बसेको नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले बताइन्। संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ।
जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले बताए। नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। बुधबार देखि शुरु भएको धर्ना शनिबारबाहेक प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ।


























