काठमाडौं, माघ १२ । एपीएफ क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो।
आर्मी भने समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनाएको थियो। एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए। यस्तै सुवास खकुरेलले ३८ रन जोड्दा सन्दीप जोराले २८ रन बनाए। कप्तान शरद भेषवाकर २४ रनमा आउट हुँदा बसन्त रेग्मीले २० रन बनाए। अमर सिंह रौटेलाले २६ रन जोडे। आर्मीका हरि चौहानले ५ विकेट लिए। साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १/१ विकेट लिए।

























