काठमाडौं, माघ १० । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो।
जितसंगै एपीएफ समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ। कर्णालीको हारले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब समेत सेमिफाइनलमा पुगेको छ। एपीएफले दिएको २ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो। कर्णालीका हेमन्त ओलीले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै हिमान्सु शाहीले २० रन जोड्दा कप्तान रविन्द्र शाहीले १४ रन बनाए। अविशेक ठकुरी र राज साहले समान १२/१२ रन जोडे।
एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३/३ विकेट लिए। भुवन कार्कीले २ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो। एपीएफको लागि सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए।
भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए। सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए। किशोर महतो २५ रनमा अविजित रहे। कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३र३ विकेट लिए। दिवन पुन र राज साहले २/२ विकेट लिए।


























