माघ ८ । युभेन्टसले इटालीयन सुपरकोपाको उपाधि जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा युभेन्टसले नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै सुपरकोपा इटालीयानाको उपाधि जितेको हो।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रोनाल्डोले खेलको ६४औ मिनेटमा गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै मोराटाले खेलको ९५औ मिनेटमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए।
२०१८ मा रोयल म्याड्रिड छोडेर युभेन्टस आएका रोनाल्डोले युभेन्टसमा योसहित चौथो उपाधि जितेका छन्। तर यस सिजनको सिरी ए मा भने युभेन्टसको प्रदर्शन सोचेजतो हुनसकेको छैन। अहिले युभेन्टस सिरी ए मा पाँचौ स्थानमा रहेको छ र शिर्ष स्थानमा रहेको एसी मिलानभन्दा १० अंकले पछाडी रहेको छ।
त्यस्तै युभेन्टसले योसहित सबैभन्दा बढी ९ पटक सुपरकोपाको उपाधि जितेको छ भने मिलानले ७ पटक सुपरकोपा इटालीको उपाधि जितेको छ। त्यस्तै इन्टर मिलान र लाजियोले ५/५ पटक यो उपाधि जितेका छन्। यो भन्दा अघिल्लो बर्ष यो उपाधि लाजियोले युभेन्टसलाई ३-१ गोल अन्तरले पराजित गर्दै जितेको थियो। एजेन्सी


























