काठमाडौं, माघ ७ । नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध काँग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका हुन्।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ।
‘अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध काँग्रेसमा एकमत भएको देउवाको भनाइ छ।
‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु, ‘देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


























