काठमाडौं, माघ ७ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो।
प्रदेश-१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए।भिम सार्कीले २९ रन जोड्दा राजेश पुलामीले अविजित २४ रन बनाए। लोकेश बमले १३ रन बनाए।
प्रदेश-१ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ,दिपेश कँडेल र शुभंकर उराले १र१ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो। प्रदेश-१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९ रन जोडे। दिपेश कँडेलले ११ रनमा आउट भए। आर्मीका शाहब आलमले ४ विकेट लिए । आकाश चन्दको नाममा ३ विकेट रह्यो। जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ। समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ।
यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो। प्रदेश-१ को भने यो लगातार तेस्रो हार हो। प्रदेश-१ तीन खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ। यस हारसंगै प्रदेश-१ प्रतियोगिताबाट बाहिरिएको छ। यस अघि प्रदेश-१ एपीएफ र गण्डकीसँग पराजित भएको थियो।


























