काठमाडौं, माघ ७ । नेपाली कांग्रेसका नेता गगन थापाले अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनजस्तो असंवैधानिक कदम सच्याउने विश्वास व्यक्त गरेका छन्।
प्रजातान्त्रिक विचार समाजले बुधबार राजधानीमा अयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता थापाले अहिले सबैको ध्यान अदालततर्फ रहेको बताए।
‘हाम्रो पार्टीले संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक हो भनेर निर्णय गरेको छ। अब अदालतले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ,’ उनले भने, ‘हामीलाई विश्वास छ अदालतले असंवैधानिक कदम सच्चाउँछ। यदि सच्चाएन भने पनि कांग्रेसको निर्णय परिवर्तन हुँदैन।’
उनले संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने परिकल्पना गरेको बताए। ‘यदि संसद्ले सरकार दिन सकेन भने मात्र विघटन गर्न पाउने व्यवस्था संविधानमा गरिएको छ,’ उनले भने, ‘मसँग ६४ प्रतिशत सांसद थिए भन्ने अनि संसद् भंग गर्ने ? बहुमत थियो भने संसद् भंग गर्नुपर्ने कारण के थियो ?’
उनले अदालतले संविधानलाई हेरेर फैसला गर्ने र त्यो फैसला सबैले मान्नुपर्ने बताए। ‘मलाई विश्वास छ। संसद् पुनस्र्थापना हुन्छ। त्यसपछि हामी जाने भनेको निर्वाचनमा नै हो। नेकपालाई जनताले दिएको म्यान्डेट समाप्त भइसकेको छ,’ उनले भने, ‘संविधानको बाटो समातेर निर्वाचनमा जानुपर्छ।’ कांग्रेसका तल्ला तहका कार्यकर्ताले यो बेला पार्टीले ठिक बाटो समात्नुपर्ने बताइरहेको भन्दै नेतृत्वले कार्यकर्ताको कुरा सुन्नुपर्ने उनको भनाइ थियो।


























