माघ ७ । गत नोभेम्बरदेखि हराइरहेका भनिएका अलिबाबा कम्पनीका संस्थापक एवम् चिनियाँ धनाढ्य ज्याक मा सार्वजनिक भएका छन्। एक भिडियो लिंकमार्फत माले ग्रामिण इलाकामा काम गरिरहेका शिक्षकहरूसँग कुराकानी गरेको बीबीसीमा उल्लेख छ। आफ्नो च्यारिटी फाउन्डेशनमार्फत यो अभियानका लागि माले शिक्षकहरूसँग कुराकानी गरेका हुन्।
चिनियाँ सरकार समर्थक ग्लोबल टाइम्स नामक मिडियाले सो भिडियो सार्वजनिक गरेको छ। टाइम्सका अनुसार वित्तीय नियामकले अलिबाबा कम्पनीमाथि अनुसन्धान थालेपछि पहिलोपटक ज्याक मा पहिलोपटक मिडियामा देखिएका हुन्।
ज्याक मा सार्वजनिक भएपछि हङकङ स्टक एक्सचेञ्जमा सूचीकृत उनको कम्पनीको शेयर मूल्य पाँच गुणाले बढेको छ। केहीअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ज्याक मा को विवाद भएको थियो। उनले वित्तीय निगम र सरकारी बैंकबारे भाषण दिने क्रममा अक्टोबर २४ का दिन मौजुदा चिनियाँ नियमका कारण व्यापारिक क्षेत्रमा नयाँ केही गर्न खोज्नेहरू प्रताडित भइरहेको बताएका थिए।
देशभित्रका विश्वचर्चित धनाढ्य मा ले कानूनमाथि आलोचना गरेपछि कम्युनिष्ट सरकार प्रतिरक्षामा उत्रिएको थियो। मा को भाषणलाई उसले पार्टी माथिकै हमला भएको उल्लेख गरेको थियो। यीनै घटनाक्रमबीच ज्याक मा बेपत्ता भएपछि यो काममा चीनियाँ कम्युनिष्ट सरकारको हात रहेको आशंका गरिएको थियो। एजेन्सी


























