काठमाडौं, माघ ७ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (बुधबार) दुई खेलहरु हुँदैछ। मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले प्रदेश-१ सँग प्रतिस्पर्धा गर्नेछ। दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।
प्रदेश-१ विरुद्ध मैदान उत्रदा आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ। यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराईसकेको छ। समूह ‘ए’ को आर्मी २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। प्रदेश-१ भने पहिलो जितको खोजीमा रहेको छ। प्रदेश-१ दुई खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ। प्रदेश-१ एपीएफ र गण्डकीसँग पराजित भएको थियो।
यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुबै टिम पहिलो जितको खोजीमा रहेका छन्।समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो। यस्तै सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो।


























