माघ ४ । भारतविरुद्धको चौंथो तथा अन्तिम टेस्टमा आइतबार अष्ट्रेलियाले सामान्य अग्रता बनाएको छ। ब्रिसबेनमा तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले ५४ रनको अग्रता बनाएको छ।
भारतले पहिलो इनिङ्समा ३ सय ३६ रन बनाएपछि दोस्रो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले विकेट नगुमाई २१ रन बनाएको छ। अष्ट्रेलियाका डेविड वार्नर २० र मार्कस ह्यारिस १ रन बनाएर खेलिरहेका छन्। यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो।
भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए। रोहित शर्माले ४४ रन जोड्दा मायांक अग्रवालले ३८ रन जोडे। कप्तान अजिंका रहाने ३७ रनमा आउट भए।
अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए। पाट कुमिन्स र मिचेल स्टार्कले २र२ विकेट लिए। अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भयो। अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए। लाबुसेन १ सय ८ रन बनाएर आउट भए। कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए।
यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे। नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे। भारतका टी-नटराजन र सार्दुल ठाकुरले ३र३ विकेट लिए। दुई टिमबीचको ४ खेलको सिरिज १/१ को बराबरीमा रहेको छ। अन्तिम टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ। एजेन्सी


























