जनकपुरधाम, पुस २८ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन असंवैधानिक रहे पनि निर्वाचन संवैधानिक रहेकोले आफूहरु चुनावको पक्षमा रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको र सो कदम जनताको मतको अपमान रहेको उनले बताए।
मंगलबार जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताए।
देश, जनता, प्रणाली र संविधानको रक्षाको लागि प्रतिनिधिसभा आवश्यक रहेकोले त्यसको दुई विकल्प सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना वा निर्वाचन मात्र रहेको उनले बताए। उनले दुवै विकल्पका लागि तयार रहनु पर्ने बताए।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि ठिक नगरेर निर्वाचनमा गए पनि ठिक रहेको उनको भनाई छ। सर्वोच्चले निर्वाचनको पक्षमा फैसला गरे निर्वाचनपछि मात्रै नेपाली कांग्रेसको महाधिवेशन हुने उनले बताए। प्रतिनिधिसभाको पुनर्स्थापना भए महाधिवेशन चाँडै हुने निधिको भनाई छ।


























