चितवन, पुस २७ । कोराना कहरका कारण बन्द कैदीबन्दी भेटघाट शुरु गरिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञासँगै गत चैत ७ गतेदेखि बन्द भेटघाटलाई यही पुस २६ गते देखि खोलिएको कार्यालयका प्रमुख काफ्लेले जानकारी दिए।
कैदीबन्दी भेट्नका लागि बिहान १०ः३० बजेदेखि साँझ अपराह्न ४ः०० बजेसम्मका लागि समय छुट्याइएको उनले जानकारी दिए। भेटघाटमा आउनेले अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम गरिनुपर्नेलगायत सावधानी अपनाउनुपर्ने छ।
कारागारलाई पुस्तक हस्तान्तरण
टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ। आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।
टिम नेपोका संस्थापक निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई ८०८ थान पुस्तक हस्तान्तरण गरे। नेपोको पुस्तक परियोजनाअन्तर्गत देशभर कारागारमा रहेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको हो।
कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताइएको छ। कार्यक्रममा वक्ताले कारागारलाई सिकाइको थलो बनाउन आवश्यक रहेकामा जोड दिएका थिए। नेपो प्रतिनिधि माधवी गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका प्रमुख काफ्ले, नेपाल चिकित्सक सङ्घका पूर्व केन्द्रीय सदस्य प्रा.डा. कृष्णप्रसाद पौडेल, रोशन पियालगायतले बोलेका थिए। सो कारागारमा हाल दुई आश्रित बालिकासहित ६९१ कैदीबन्दी छन् जसमा ५५ महिला छन्। रासस


























