चितवन, पुस २६ । भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन्। फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन्। स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो। बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष तारानाथ कुँवरले लकडाउन र निषेधाज्ञाको फुर्सदको समयमा स्थानीयले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा बाटिका निर्माण गरेको बताए। नारायणगढ–मुग्लिन सडकखण्डसँगै जोडिएको पुष्पबाटिका सडकबाटै देख्न सकिन्छ।
स्थानीय होटलसहित अन्य घरपरिवारले फोहर फाल्ने गरेको उक्त स्थानलाई सफा गरेर पुष्पबाटिका बनाइएको कुँवरले बताए। त्यहाँ विगत ३० वर्षदेखि फोहर फालिँदै आएको थियो। झाडीले घेरिएको उक्त स्थान कुरुप देखिन्थ्यो। सतनचुली सामुदायिक वनको संरक्षित वन र भरतपुर महानगरको जग्गामा उक्त बाटिका निर्माण गरिएको हो। कूल दुई बिघा १० कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको बाटिकामा १० कठ्ठा जग्गा भरतपुर महानगरको छ। महानगरको जग्गामा कङ्क्रिटबाट भौतिक निर्माण गरिएको छ भने वनको जग्गामा फूल रोपिएको छ।
बाटिकामा मौषमी फूल लगाइएका छन्। पाम, हेज, बगलबेल्डिम, पाइनलगायतका फूलका बिरुवा रोपिएका छन्। बाटिकामा चाइनिज दुबो रोपिएको छ। दुबो फैलिएसँगै र फूल फूल्न थालेपछि बाटिका आकर्षक देखिने उनले जानकानरी दिए। यस्तै बाटिकामा बौद्ध मन्दिर, पानीको फोहोरा फाल्ने पोखरी, मितेरी पुल, बालबालिका खेल्ने पिङलगायत भौतिक संरचना निर्माण गरिएका छन्। आगामी दिनमा अपाङ्गमैत्री शौचालय, स्तनपान कक्ष, योगा गर्ने ठाउँ, जिम हललगायत संरचना निर्माण गरिने योजना रहेको बाटिका निर्माण समितिका अध्यक्ष डिलकुमारी लामिछानेले जानकारी दिए।
गत असार २३ गतेबाट निर्माण शुरु गरिएको बाटिका सर्वसाधारणका लागि माघ १ गते सञ्चालनमा ल्याइने जनाइएको छ। बाटिका निर्माणमा हालसम्म रु १६ लाख ५० हजार खर्च भएको निर्माण समितिका कोषाध्यक्ष दुर्गा पन्तले जानकारी दिए। रासस


























