काठमाडौं, पुस २६ । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन्। ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन्।
पुष्पाले निर्धारित दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकालिन्। पुष्पाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्। भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेण्डसहित दोस्रो र गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भईन्।
पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौंथो भए। किरण सागका स्वर्णधारी हुन्। किरणले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पुरा गरे। दोस्रो राउण्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए।
‘धेरै दुख गरेर प्रतियोगितामा सहभागिता जनाएका थियौं। सहभागिता नै हाम्रो लागि चुनौतिपूर्ण थियो। अन्तिम समयमा स्वर्ण प्राप्त गरेका छौँ। हामी खुशी छौँ,’ चौधरीले भने।
पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जिते। उनले २ घण्टा २१ मिनेट ४० सेकेण्डको समय निकाले। भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो र भारतकै रवि प्रकाश २ घण्टा २५ मिनेट २३ सेकेण्डको समय निकाल्दै तेस्रो भए।


























