मकवानपुर, पुस २५ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएकै समयमै प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरेका छन्। हेटौंडामा शनिबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तोकिएको अवस्थामा चुनाव नसर्ने दाबी गरेका हुन्। ‘वैशाखको १७ गते र २७ गते दुई चरणमा गरेर निर्वाचनको मिति घोषणा गरिएको छ। तोकिएकै समयमा निर्वाचन हुन्छ’ उनले भने।
उनले निर्वाचनलाई सम्पन्न गर्न चारवटै सुरक्षा निकायका प्रमुखसँग सरकारले बैठक राखेर निर्वाचनको प्रारम्भिक योजना बनाइसकेको बताए। ‘सुरक्षा प्रमुख र निर्वाचन आयुक्तहरुले प्रारम्भिक योजना निर्माण गरिरहनु भएको छ। ताजा जनादेशका लागि निर्वाचन गर्न लागिएको हो। त्यसकारण चुनावको तयारी गर्न अन्य दलहरुलाई पनि आग्रह गर्दछु।’, उनले प्रतिपक्षी दल कांग्रेसलाई पनि ९० प्रतिशत चुनाव लागिसकेको टिप्पणी गरे।
उनले नेकपाको निर्वाचित अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली भएका कारण चुनाव चिन्ह र दलको मान्यता आफूहरुले प्राप्त गर्ने बताए।


























