पुस २५ । भारतविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शनिबार अष्ट्रेलियाले अग्रता बनाएको छ। सिड्नीमा शनिबार तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले १ सय ९७ रनको अग्रता बनाएको छ। भारतलाई पहिलो इनिङ्समा अलआउट गर्दै दोसो इनिङ्स थालेको अष्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ। अष्ट्रेलियाका लागि मार्नुस लेबुसचेन ४७ रनमा अविजित रहेका छन्। स्टिभन स्मिथ पनि २९ रनमा अविजित छन्।
डेभिड वार्नर १३ र विल पोकोवस्कीले १० रन बनाएर आउट भए। भारतका मोहमद सिराज र रविचन्द्र आश्विनले १/१ विकेट लिए। त्यसअघि भारत तेस्रो दिननै २ सय ४४ रनमा अलआउट भयो। दोस्रो दिन २ विकेट गुमाएर ९६ रन बनाएको भारतले तेस्रो दिन सम्हालिएर खेल्न सकेन। भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे। रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए। अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए। जोश हाजलउडले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो।
घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय इनिङ्स खेले। रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए।
ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लेबुसचेनले शतक बनाउन ९ रनले चुके। उनलाई जडेजाले अज्निका रहानेको हातबाट क्याच आउट गराए। अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २/२ विकेट लिए। मोहमद सिराजको नाममा एक विकेट रह्यो।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १/१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो। यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो।


























