चरिकोट, पुस २४ । गृहमन्त्री रामबहादुर थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्याउने बताएका छन्।
दोलखाको चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले स्थायित्वका लागि नयाँ संसदीय निर्वाचनमा जाने तयारी भएकाले पुरानो संसद अब पुनर्स्थापना नहुने दाबी गरे। ‘पदको लोभमा परेर प्रतिगनमलाई सघाउन लागिपरेका छन्’, मन्त्री थापाले भने, ‘अहिले पुरानै संसदकी नयाँ संसदको बहस चलिरहेको छ।’ पुरानो संसद पुनर्स्थापनाले अस्थिरता निम्त्याउने उनको तर्क छ।
उनले राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताए। ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ।’
दाहाल(नेपाल समूहलाई लक्षित गर्दै मन्त्री थापाले पूर्वमेचीदेखि महाकालीसम्म पार्टीको सुद्धिकरण चलिरहेकाले पार्टीमा भएका फोहरमैला व्यवस्थापन भइरहेको बताए। पार्टीमा भएका अवसरवादीहरु हट्दै गएको उनको भनाइ थियो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गणतन्त्रर र लोकतन्त्रको रक्षा र प्रतिगमन रोक्न संसद् विघटन गरेको तर्क गरे। ‘प्रधानमन्त्री केपी ओलीले लिएको कदम आजका लागि संवैधानिक छ ’ गुरुङले नेपाली जनता र संविधानको संरक्षणका लागि संसद विघटन ऐतिहासिक छ।’ उनले अब निर्वाचनले नै देशमा स्थायित्व दिने दाबी गरे।

























