काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन हुँदा सत्यानाश नभएको दाबी नेकपा ओली समूहका नेता खिमलाल भट्टराईले बताएका छन्। पार्टीभित्रैबाट सरकारलाई काम गर्न नदिएकाले यो अवस्था आएको उनले बताएका छन्। राष्ट्रियसभामा बोल्दै भट्टराईले सरकारले काम गर्नै नसक्ने परिस्थिति बनेको र यस्तो अवस्था आएको बताएका छन्।
‘तर, यो अहिले प्रचार गरिएजस्तो सत्यानाश होइन,’ उनले भने, ‘राष्ट्रिय सभा, प्रदेश सभाहरु अहिले पनि नभएका होइनन्।’ उनले सरकार र संसद दुवै चल्न नसक्ने परिस्थिति भएकाले यो अवस्था आएको बताएका छन्।
धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतासम्म जानका लागि यो अवस्था आएको उनले बताएका छन्। आफ्नो सरकारले काम नगर्ने ठान्दा र संसदमा वैकल्पिक शक्ति नदेखेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पनि उनले बताएका छन्। यतिमात्र होइन, उनले अहिले ओलीले भोगेको अवस्था हिजो विपी कोइरालाले पनि भोगेको समेत बताएका छन्।


























