पुस २२ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीलाई चीनले प्रवेशमा रोक लगाएको छ। चीनको वुहान जान लागेका डब्ल्यूएचओका दुई अधिकारीलाई चीनले भिसा क्लियरन्सको स्वीकृती नदिएपछि समस्या आएको बीबीसीले जनाएको छ। टोलीका दुई सदस्यले भने यसअघि नै यात्रा शुरू गरिसकेका छन्। डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका लागि आवश्यक अनुमति चीनले नदिएको थाहा पाएको बताएका छन्।
‘म यस खबरबाट निराश छु। टोलीका दुई सदस्यले यात्रा शुरू गरिसकेका छन् र अन्य दुई सदस्यलाई चीनले भिसा क्लियरन्सको स्वीकृति नदिँदा अन्तिम समयमा उनीहरुले यात्रा गर्न सकेनन्। हामी चीनका वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छौं। चीनले छिटो अनुमति दिनका लागि आन्तरिक प्रक्रिया द्रुत बनाएको भनी मलाई आश्वासन दिइएको छ। अनुसन्धान टोलीले छिटो काम शुरू गरोस् भन्ने हाम्रो चाहना हो,’ उनले पत्रकार सम्मेलनमा भने।
उनले यो प्रशासनिक समस्या मात्र भएको र छिट्टै समाधान हुने आशा पनि व्यक्त गरे। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरी महामारीको फैलिरहेको छ। एजेन्सी


























