बलेवा, पुस २१ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ। उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो। सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए। तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन। लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ।
चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन्। घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताए। ‘‘हामी धेरै पोखरा, काठमाडौँमा छौँ, गाउँमा भएका युवाहरु हिमपातपछि चिसो बढेको बताएका छन्”, विष्टले भने, “चौँरी, च्याङ्ग्रालगायत चौपाया चराउन नपाएको खबर छ।” चिसो बढेपछि स्थानीय गुइँठा बालेर घरभित्रै बसेका छन्।’’
चौँरी खर्क र गोठ हिउँले पुरिएका छन्। पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको हो। बुधबारसम्म मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ। मौसमको अवस्था स्थिर रहे आज साँझसम्म तल्लो मुस्ताङमा हिमपात हुने स्थानीयवासीले बताएकाछन्। रासस


























