वीरगञ्ज, जेष्ठ १४ । नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको छ।
मंगलबार राति कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराई रहेका ३० जना मध्ये २१ जना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको विशेष कोरोना गण्डक हस्पिटलका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
अस्पतालमा उपचारपछि निको भएर फर्किनेहरुमा १७ जना पुरुष र ४ जना महिलाहरु छन्। उनीहरु मध्ये १५ महिने बालकसहित तीनजना बालबालिकाहरु पनि छन्।
उनीहरुको कोरोना परीक्षण गर्दा लगातार दोस्रो पटक नेगेटिभ आएपछि डिस्चार्ज गरि घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।
अब गण्डक अस्पतालमा ९ जना मात्रै कोरोना संक्रमितहरु उपचार गराईरहेका छन्।
यो सँगै वीरगञ्जको नारायणी र गण्डक अस्पतालबाट उपचार भएपछि संक्रमणमुक्त भएर एक सय २ जना घर फर्केका छन्। यस अघि गत सोमबार साँझ दुई जना पत्रकारसहित ४३ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए।
त्यस्तै आइतबार राति पनि कोरोना संक्रमणमुक्त भएर वीरगञ्ज छपकैयाका एकै परिवारका ४ महिने शिशुसहित १८ जना डिस्चार्ज भएका थिए। गत शनिवार पनि नारायणी अस्पतालमै उपचार पछि संक्रमणमुक्त भएर ९ जना संक्रमितहरुलाई डिस्चार्ज गरि घर पठाइएको थियो।


























