काठमाडौं, पुस २० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई लिएर आज भारत जाँदैछन्। उनी पत्नी सीताको उपचारका लागि बिहान ११ बजेको उडानबाट मुम्बई जान लागेका हुन्।
सीताको साथमा अध्यक्ष प्रचण्डसहित छोरी गंगा दाहाल पनि जाने प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्ड भने बुधबार स्वदेश फर्किने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। माधवकुमार नेपालको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बस्ने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।
आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णयअनुसार यो बैठकअवधिभर नेता नेपालले नै अध्यक्षता र बैठक सञ्चालन गर्नेछन्। यो बैठकमा अध्यक्ष प्रचण्ड भने सहभागी हुने छैनन्।


























