काठमाडौं, पुस १७ । नेपाल टेलिकमले आजबाट आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो।
हालसम्म टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो। अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो। कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ।
तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, चाबहिल, छाउनी र गोंगबुमा उपलब्ध हुनेछ। यसैगरी पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्सालमा समेत यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उपत्यका बाहिरको हकमा जहाँ जहाँ कम्पनीको फाइबर पुगेको छ, उक्त स्थानमा यो सेवा उपलब्ध हुनेछ। जसमा काभ्रे, चितवन, धनुषा, मकवानपुर, पर्सा, सिन्धुली, घनकुटा, झापा, मोरङ, सुनसरी, डोटी, कैलाली, कन्चनपुर, धादिङ, बाँके, दाङका केही स्थानमा टेलिकमको फाइबर उपलब्ध रहेको छ।
यसैगरी प्युठान, सुर्खेत, बागलुङ, कपिलबस्तु, कास्की, नवलपरासी, मुस्ताङ, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही र तनहुँमा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ।
हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस, डेटा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटिटिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एनटिटिभीका लागि ग्राहकले कम्पनीबाट एसटीबी (सेट टप बक्स) खरिद गर्नुपर्नेछ।
विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु सहित उपलब्ध भएको एनटिटिभी सेवा कम्पनीले प्रिमियम र बेसिक गरी दुई प्याकेज पनि विभिन्न प्याकेज उपलब्ध गराएको छ। जसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौट गर्न सक्नेछन्।
एकभन्दा बढी टिभी भएको खण्डमा त्यसका लागि थप शुल्क लाग्ने टेलिकमले जनाएको छ। यदि तपाईं टिभी थप्न चाहानुहुन्छ भने यस्तो छ थप टेलिभिजनको शुल्क लाग्नेछ।

























