पुस १६ । सन् २०२१ मा बलिउडमा रिमेक फिल्महरूको बाढी आउन लागेको छ। ओरिजिनल सोच नभएका बलिउडकर्मीहरू अन्य भाषामा बनिसकेको फिल्म रिमेक गरेर दर्शकलाई मूर्ख बनाउनका लागि तम्तयार भएका छन्। यहाँ हामी आउन लागेका केही रिमेक फिल्महरूको चर्चा गर्दैछौं।
जर्सी
शाहिद कपूरको फिल्म जर्सी सन् २०१९ मा रिलीज भएको एक तेलुगु फिल्मको हिन्दी रिमेक हो। गौतम टिन्नानुरीले मूल फिल्मको निर्देशन गरेका थिए र उनैले यस रिमेक फिल्मको पनि निर्देशन गरेका छन्। फिल्ममा शाहिदले अर्जुन रायचन्द नामक खेलाडीको भूमिका निर्वाह गर्दैछन्।
लाल सिंह चड्ढा
आमिर खान र करीना कपूरको फिल्म लाल सिंह चड्ढा लामो समयदेखि चर्चामा छ। हलिउडको सर्वकालीन महान् फिल्ममध्ये एक फरेस्ट गम्पको यस रिमेकमा आमिर खान पञ्जाबी सरदारको भूमिकामा देखिँदैछन्।
द गर्ल अन द ट्रेन
सन् २०१५ मा आएको यसै शीर्षकको पुस्तकमा हलिउडले सन् २०१६ मा फिल्म बनाइसकेको छ। अब यसैलाई हिन्दीमा रिमेक गरिन लागेको छ। यसमा परिणीति चोपडाको प्रमुख भूमिका छ।
विक्रम वेधा
तमिल भाषामा यसै शीर्षकमा बनेको फिल्मलाई हिन्दीमा रिमेक गरिएको छ। सैफ अली खान र आमिर खान प्रमुख भूमिकामा देखिनेछन्।
र्याम्बो
ब्लकबस्टर हउिड फिल्म र्याम्बोको पनि हिन्दी रिमेक गरिएको छ। टाइगर श्रोफ फिल्ममा खतरनाक रफ यान्ड टफ नायकको भूमिकामा देखिनेछन्।
तडप
दक्षिण भारतीय फिल्म आरएक्स १०० लाई हिन्दीमा रिमेक गरिँदैछ र तडप नाम राखिएको छ। सुनील शेट्टीका छोरा अहान शेट्टी फिल्ममा नायक छन् भने मिलन लुथरियाले यसको निर्देशन गरेका छन्।
द इन्टर्न
हलिउड फिल्म द इन्टर्नको यो रिमेकको कथा काममा फर्किन चाहेकी र इन्टर्न बन्न खोजेकी ७० वर्षीया विधवाको बारेमा छ। फिल्ममा दीपिका पादुकोण प्रमुख भूमिकामा छिन्।
डियर कामरेड
दक्षिण भारतीय सुपरहिट फिल्म डियर कामरेडलाई हिन्दीमा रिमेक गर्नका लागि सन् २०१९ मा धर्मा प्रोडक्सनले प्रतिलिपि अधिकार किनिसकेको छ। सन् २०२१ मा यसको शूटिङ शुरू गरिनेछ। एजेन्सी


























