हामीले कहिलेकाहीँ कमिला लस्करै हिँडिरहेको देखेका हुन्छौँ। उनीहरुको क्रियाकलाप नियालेर हेर्ने हो भने साँच्चै नै रमाइलो देखिन्छ। कमिला फर्मिसिडी परिवारमा पर्ने कोलोनी वा समूह बनाएर बस्ने एक प्रकारको सामाजिक किरा हो। कमिला धेरै प्रजातिका हुन्छन्। कमिला सानो भएता पनि यसकाे धेरै विशेषता छन्।
कमिला एक संघर्षशील प्राणी भएकाेले जीवनमा सफल हुन कमिलाबाट पनि धेरै कुरा सिक्न सक्छौँ। कमिलाहरु जब बाहिर ताँतीमा हिँड्छन् तब रानी कमिलाले बाटोमा फेरोमोन्स नामको रसायन छोड्दछ। जसका सहायताले अन्य कमिलाहरु पछाडि हिँड्छन्। त्यसैले कमिलाहरु एकै ताँतीमा अनुशाशित भएर हिँड्ने गर्दछन्।
राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित कविता पनि हामीले पढेका छौँ नि!
हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो
एउटा साथी आएर दिन्छ केको खबर
लगातार अगाडि बढ्छ लावालस्कर
आज जान्छ जन्ती यो कुन देश कुन घर
कहाँ होलिन् दुलही सुनकेस्रा झैँ सुन्दर
हाम्रो फूलबारीमा रूख मुनि स्याउको
राखेको छ ढोकामा सेतो छाता च्याउको
पहारिलो कान्लामा सानु-सानु दुलो छ
बाहिर त्यहाँ धूलो छ भित्र दरबार ठूलो छ
कमिलाकी रानी त्यै दरबारमा बस्छिन् रे
आकाशकी इन्द्रेणी धर्तीभित्र पस्छिन् रे
कमिलाकी रानीको आज बिहा हुन्छ रे
घामपानी परेको आज राम्रो दिन छ रे
कमिला र फट्याङ्ग्राको कथा पनि हामीले सुनेका छौँ। कमिलाले बर्खामा धेरै मिहिनेत गरेर घर बनाउँछ र हिउँदको लागि रासन जम्मा गर्छ। तर फट्याङ्ग्रालाई लाग्छ मूर्ख कमिला, प्रशस्त खाना छं कति चिन्ता लागेको। ऊ हाँस्छ, नाच्छ र खेलेरै बर्खा बिताउँछ। हिउँद लागेपछि कमिलो सुरक्षित हुन्छ र भण्डारण गरिएको रासनले गुजारा गर्छ। उता फट्याग्राको न त वासको ठेगान हुन्छ न त गाँसको। यसैले ऊ जाडोमा कठ्याङ्ग्रिएर मर्छ।
हामीले भविष्यको बारेमा पनि सोच्नैपर्छ। जति कमाउँछौँ, त्यसको केही प्रतिशत बचत गर्यौँ भने भविष्यमा काम लाग्छ। कमिलाले समूहमा मिलीजुली बाँडेर खान्छन्। केही खानेकुरा पोखियो भने कति चाँडै तिनीहरू सन्देश अरूलाई पुर्याउँछन्।

कमिला निकै नै सक्रिय स्वभावको प्राणी हाे। यिनीहरु सधैं व्यस्त रहन्छन्। हाम्रो जीवन पनि पछिल्लो समय व्यस्त हुन्छ। तर व्यस्त के काममा हुने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ उनीहरुको बाटोमा अवरोध आउँछ। तर पनि तिनीहरू जहिले पनि यस्ता अवरोधहरू पार गरेर अगाडि बढ्छन्। कमिलाजस्तो, हाम्रो जीवनमा धेरै अवरोधहरू हुन्छन्, जुन पार गर्नुपर्दछ। हामीले आफूभित्रको असिमित सम्भावनालाई चिन्न सक्नुपर्छ।
जसरी कमिला आफ्नो तौलभन्दा बढी भारी वस्तुहरू बोक्न सक्छन्। कडा परिश्रम र दृढ संकल्पको माध्यमबाट मात्र सम्भव हुन सक्छ। प्रयास गर्न छोड्नु हुँदैन। हामी एक जिम्मेवार व्यक्ति हुन पनि कमिलाबाट सिक्न सक्छौँ।


























