पुस ११ । भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १ सय ९५ रनमा अलआउट भएको छ। मेलबर्नमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै १ सय ९५ रनमा अलआउट भएको हो। अष्ट्रेलियाका लागि मार्नुस लबुसेनले सबैभन्दा धेरै ४८ रन बनाए। यस्तै ट्रेभिस हेडले ३८, म्याथु वाडेले ३० र नाथन लियोनले २० रन बनाए। स्टिभ स्मिथ र जोय बन्सले खाता पनि खोल्न सकेनन्।
भारतका जसप्रित बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले १ र रविन्द्र जडेजाले १ विकेट लिए। आजै आफ्नो पहिलो पारीको ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिँदासम्म १ विकेट गुमाएर ३६ रन बनाएको छ। टेष्टमा डेब्यु गरेका शुभमन गिल २८ रनमा नटआउट छन्।
मयंक अग्रवाल खाता नै नखोलेर आउट भए। चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ। अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन। तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ। विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन्।
ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन्। विकेट किपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन्। यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन्।
पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अलआउट हुँदै भारतले आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम रनको खराब रेकर्ड बनाएको थियो। भारतले यसअघि एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेलिसकेको छ। अष्ट्रेलियाले २–१ एक दिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी शृङ्खला जितेको थियो।


























