काठमाडौं, पुस ८ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको खारेजी माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको आइतबार प्रतिनिधिसभा विघटनको घोषणा गरिएको छ। गएको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति घोषणा गरेकी छन्।
सर्वोच्चका अनुसार बुधबार ११ वटा रिटमाथि एकल इजलासमा सुनुवाइ हुनेछ। सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासमा हुनेछ। एउटा रिटका लागि संवैधानिक इजालास गठन गरी आउँदो शुक्रबारका लागि पेशी तोकिने छ।
विघटन संवैधानिक व्यवस्था विपरित रहेको भन्दै संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा एक दर्जन रिट परेका छन्। ती रिटको बुधबार पहिलो पटक सुनुवाइ हुन लागेको हो। सर्वोच्च स्रोतका अनुसार यी रिटहरुमाथि बुधबार प्रारम्भिक सुनुवाइ सुरु हुने भएकाले एकल न्यायाधीशको इजलासमा पेशी तोकिने छ।


























