काठमाडाैं ८ मंसिर । संसद विघटन गरेसँगै नेकपाभित्रकाे विवाद चरम उत्कर्षमा पुगेकाे छ। आन्तरिकरुपमा विवाद गर्दै आएका नेकपाका दुई अध्यक्षबीचकाे सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद विघटन गरेपछि विवाद बाहिर नै छताछुल्ल भएकाे हाे। त्यसयताकाे घटनाक्रम हेर्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष आधिकारिक रुपमै छुट्टिएका छन्। मंगलबार दुवै अध्यक्षले आफू अनुकूल बैठक बाेलाएर नेताहरुसँग छलफल मात्रै गरेनन् दुवै पक्षले नेकपा आफ्नाे भएकाे दाबीसमेत गरेका छन्। दुवै पक्षले आफूलाई बलियाे सावित बनाउनकाे लागि कसरत गरिरहेका छन्।
प्रायः सबै नेताले आफू कुन पक्षमा जाने भन्ने कुरा स्पष्ट पारिसकेकाे समयमा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा कुन पक्षमा भन्ने विषय शंकास्पद बनेकाे छ। पूर्व एमालेका गाैतम र पूर्व माओवादी केन्द्रका थापा तटस्थ बसेपछि कुन पक्षमा जाने भन्ने विषय पनि अनिर्णित बनेकाे हाे। केन्द्रीय कमिटी बैठकमा आमन्त्रण गर्न पुगेका नेताहरूलाई गौतम र थापा दुवैले एक–दुई दिन सोचेर निर्णय गर्ने जवाफ दिएका छन्। दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गर्नका लागि सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बिहान उनको निवास भैंसेपाटी पुगेका थिए। जवाफमा गौतमले आफूलाई एक–दुई दिन सोच्ने समय दिन आग्रह गरेका थिए।
यस्तै अध्यक्ष पुष्पकमल दाहाल थापालाई बोलाउन भनेर मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए। थापाले पनि आज कुनै बैठकमा नजाने, राजनीतिक परिस्थिति हेरेर निर्णय गर्ने बताएका थिए। बरु गौतम र थापाका बीचमा अब कसरी अघि बढ्ने भन्ने विषयमा भलाकुसारी भएको थियो। नेकपाका दुई पक्षले दुईतिर छुट्टाछुट्टै बैठक गरिरहेका बेला गौतमलाई भेट्न थापा उनकै निवास भैंसेपाटी पुगेका थिए। मंगलबार गौतम र थापापक्षीय केही केन्द्रीय सदस्यहरू दुवै भेलामा सहभागी भएका छैनन्।


























