काठमाडौं, पुस ६ । सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ। जुन ८०० वर्षपछि हुन लागेको हो। खगोलविदले जनाएअनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन्।
यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन्। सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ। यस्तो घटना हरेक साढे १९ वर्षको अन्तरालमा हुने भए पनि आजको यो संयोग अझ बढी दुर्लभ भएको उनीहरुको दाबी छ।
किनकी अरुबेला पृथ्वीबाट सामान्य अवस्थामा यो देख्न सकिँदैनथ्यो। तर अहिले यी दुई ग्रह पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा रहने हुँदा सहजै अवलोकन गर्न सकिने जनाइन्छ। सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए। तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन। अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ।


























