चितवन, पुस ५ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ। गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो।
विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार छनोट समितिले सिफारिस गरेका नाममध्येबाट डीन नियुक्त गरिएको हो। सोअनुसार कृषि सङ्कायमा प्रा जयप्रकाश दत्त र पशु विज्ञानमा प्रा.डा. होमबहादुर बस्नेतलाई नियुक्त गरिएको छ। कृषिमा प्रा.डा. अरविन्दकुमार श्रीवास्तव र प्रा.डा अर्जुनकुमार श्रेष्ठसहित तीन जनाको नाम सिफारिस भएको थियो। त्यस्तै पशुविज्ञानमा प्रा.डा. सुमिला राई र प्रा.डा. भूमिनन्दन देवकोटासहित तीन जनाको नाम सिफारिस भएको थियो। दुवै सङ्कायमा सातसात जनाको आवेदन परेको थियो। तीमध्येबाट छनोट समितिले तीन जना सिफारिस गरेको हो।
प्रा.डा. रेग्मीले सिफारिस भएका नामबाट कार्यकारी परिषद्ले डीन नियुक्त गरेको जानकारी दिए। त्यसैगरी अनुसन्धान निर्देशकमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ। श्रेष्ठ यसअघि सोही विश्वविद्यालयको योजना निर्देशक रहेका थिए। अनुसन्धान निर्देशक प्रा.डा नवराज देवकोटा गण्डकी प्रदेश सरकारको विश्वविद्यालयमा उपकुलपति भएपछि सो पद रिक्त रहेको थियो।
यसैगरी विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त गर्न आह्वान गरेअनुरुप ११ जनाको आवेदन परेको छ। रेग्मीका अनुसार तीमध्येबाट तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने तयारी गरिएको छ। छनोट समितिले ११ जनामध्येबाट तीन जनाको नाम उपकुलपतिलाई सिफारिस गरेको बुझिएको छ। हाल नाम सार्वजनिक गर्न रेग्मीले अस्वीकार गरे। सो विश्वविद्यालयमा रजिष्ट्रार पद गत माघ १२ गतेदेखि रिक्त छ। सोका कारण विश्वविद्यालयसभासमेत हुन सकेको छैन। यता नियिुक्त चित्तबुझ्दो नभएको जनाउँदै विश्वविद्यालयको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। सो सङ्गठनले एकलौटी रुपमा नियुक्ति गरेको जनाउँदै उपकुलपतिको राजीनामा माग गरेको छ। उपकुलपति रेग्मीले भने सबै प्रक्रिया पूरा गरेर आफूले नियुक्ति अघि बढाएको बताए।


























