पुस ४ । एडिलेटमा भएको पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ। जितसंगै चार म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ। पहिलो टेष्टमा लज्जास्पद पराजयसंगै भारत थप समस्यामा पर्ने देखिएको छ। नियमित कप्तान विराट कोहली पारिवारिक कारणले अब भारत फर्कनेछन्।
एडिलेटमा तेस्रो दिन भारतका लागि बिर्सनलायक रह्यो। दोस्रो दिनको अन्तिमसम्म मजबुद देखिएको भारत तेस्रो दिन ९० मिनेटमै समेटियो। भारतले ९ विकेट गुमाएर मात्र ३६ रन बनायो। मोहमद शामी चोट बोक्दै मैदान छाडेका थिए। अष्ट्रेलियाले जितका लागि मात्र ९० रनको लक्ष्य पाएको थियो। घरेलु टोलीले मात्र दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
स्टिव स्मिथ १ र जो बन्र्स ५१ रनमा अविविजत रहे। तेस्रो दिन भारतीय टिमले २७ रन बनाउन ८ विकेट गुमाएको थियो। अष्ट्रेलियाका जोश हेजलउडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए। चार घन्टाको अन्तरमा भारतीय टिमले एडिलेटमा खेल हारेको थियो।
भारतीय टिमका कोहीपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। मयाङ्गा अग्रवालले सबैभन्दा बढी ९ रन बनाए। बिहारीले ८ रन बनाएको खेलमा चेतेश्वर पुजारा, आजिक्या रहाणे, रविचन्द्रन आश्विनले खातै खोल्न सकेनन्। कप्तान विराट ४ रनमा आउट भए। भारतले टेष्ट क्रिकेटको ईतिहासमा सबैभन्दा कम स्कोर बनायो। यसअघि उसले ४२ रनको न्युन स्कोरको खराब रेकर्ड बनाएको थियो।
पहिलो ईनिङ्समा भारतीय टिमले २ सय ४४ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले १ सय ९१ रन मात्र बनाउन सक्यो। शुक्रबार ५३ रनको अग्रता लिएको भारतीय टिमले तेस्रो दिनमै खेल अष्ट्रेलियालाई सुम्पिएको हो।


























