पुस ४ । म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबले फरवार्डमा लगानी गर्न आवश्यक नरहेको बताएका छन्। यस सिजन गोलका लागि संघर्षरत देखिएको सिटीका प्रशिक्षकले क्लबमा नयाँ फरवार्डको आवश्यकता नदेखेका हुन्। उनले क्लबका फरवार्ड ग्याब्रियल जिसस र सर्जियो अग्युरोलाई स्थानान्तरण गर्न आवश्यक नरहेको बताए।
यस सिजन प्रिमियर लिगका १२ खेलमा सिटीले मात्र १८ गोल गरेको छ। पछिल्ला तीन सिजन भन्दा सिटीले निकै कम गोल गरेको हो।पछिल्लो वर्ष यस अवस्थासम्म सिटीले ३५ गोल गरेको थियो। दुई वर्षअघि ३६ र तीन वर्षअघि ३८ गोल गरेको थियो। नयाँ फरवार्डको आवश्यकताबारे ग्वार्डीओलाले भने, ‘अवश्यपनि चाहिएको छैन।’ अग्युरोले १ सय ८ मिनेटमा कीर्तिमानी एक गोल गर्ने गरेका छन्। ग्याब्रियलले एक गोल गर्न १ सय ४० मिनेट लगाउने गरेका छन्।
ग्याब्रियलबारे ग्वार्डीओलाले भने, ‘उनी एक व्यक्ति हुन्। जो गोल गर्छन्। तर यो सबै उनको काँधमा छैन। हामीले अन्तिम पटक वेस्ट ब्रोमसंग १–१ को बराबरी खेल्यौ। सेन्टर डिफेन्डरले नि गोल गर्न सक्छन्। सबैको जिम्मेवारी छ। खेल जित्न आवश्यक छ। जित्नका लागि सबै जिम्मेवार छन्।’
‘उनीहरुले आत्मविश्वास गुमाएका छैनन। उनीहरुको अविश्वसनीय व्यक्तित्व छ। उनीहरु प्रतिभाशाली छन्। हामी सकारात्मक हुन आवश्यक छ। आक्रमक हुन आवश्यक छ। डर विहिन तरिकाले गोल गर्न आवश्यक छ। हामीले लगातार प्रयास जारी राख्नुपर्छ। अन्य कुनै विकल्प छैन । यदी २५ प्रहार पर्याप्त हुदैन भने हामीले अझ पनि अवसर सिर्जना गर्नुपर्छ ।’ ग्वार्डीओलाले थपे।
वेस्ट ब्रोमविरुद्ध अग्युरोले अन्तिम १४ मिनेट खेलेका थिए। उनले शुक्रबारसम्म अभ्यास गरेका छैनन्। शनिबार साउथह्याम्पटनविरुद्ध उनी मैदान उत्रने सम्भावना कम छ।
खेलपछि उनले अभ्यास गरेका छैनन्। ग्वार्डीओलाले भने, ‘हिजो अभ्यास गरेनन्। शुक्रबार उनले राम्रोसंग अभ्यास गरे। मलाई थाहा छैन, उनी कति मिनेट खेल्न सक्छन्।’


























