पुस १ । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वेस्ट ब्रुमसंग निराशाजनक बराबरी खेलेको छ। मंगलबार राति सिटीले घरेलु मैदान ईतिहादमा रेलिगेशन क्षेत्रमा रहेको वेस्ट ब्रुमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। खेलमा अग्रता सिटीले एल्के गुन्डोगानको गोलमा लिएको थियो । रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा गुन्डोगानले गोल गरेका थिए।
पहिलो हाफको अन्तिम समयमा सिटीका रुबिन डायसले आत्मघाति गोल गरेपछि वेस्ट ब्रुम खेलमा फर्कियो। दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल हुन सकेन।
अधिकांश समय बललाई नियन्त्रणमा राख्दा समेत सिटीले खेल गुमाउन पुग्यो। खेलको नतिजाले सिटी प्रशिक्षक पेप ग्वार्डिओला निराश देखिए। उनले यस प्रकारको खेल आफुले जित्नुपर्ने धारणा राखे। सिटी तालिकाको छैटौं स्थानमा रहेको छ। सिटी शीर्ष क्लब भन्दा ५ अंकको दुरीमा रहेको छ।
‘हामीले मौका बनायौं। हामीले खेललाई नियन्त्रणमा राख्यौं। तर तपाईलाई जित्न आवश्यक छ। यो खेलले नतिजामा काम गर्छ।’ नतिजाले निराश बनेको ग्वार्डिओलाले भने।
सिटीलाई फरवार्ड लाईनले यस सिजन दुख दिएको छ। आक्रमक मिडफिल्डर डेबिड सिल्भा रियल सोसिडाड लागेका छन् भने सर्जियो अग्युरो चोट मुक्त हुँदै लयमा फर्कन संघर्षरत छन्। सिटी २० अंक सहित तालिकाको छैटौं स्थानमा रहदाँ रेलिगेशन क्षेत्रमा रहेका वेस्ट ब्रुमले ७ अंक जोडेको छ। एजेन्सी


























