काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ।
यसअघि शनिबार (हिजो) को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ थियो। पछिल्लो २४ घण्टामा थप १५०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३५ हजार ७३१ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शुक्रबार (हिजो) को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ६९८ पुगेको छ।


























