चितवन, मंसिर २८ । गौतम बुद्ध कप टि-२० क्रिकेट प्रतियोगितामा राप्ती टिमले वाग्मतीलाई १३० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनाएपछि वाग्मतीले सामान्य लक्ष्य पाएको हो। भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा ब्याटिङ थालेको राप्तीको सुरुवात राम्रो हुन सकेन।
५ रन हुँदा कुशल भुर्तेल ब्यक्तिगत तीन रनमा आउट भएका थिए। त्यसपछि अमित श्रेष्ठसँग मिलेर शरद भेषावकरले ४० रनको साझेदारी गर्दै टिमलाई उकास्न खोजेका थिए। तर दोस्रो विकेटको रुपमा शरद २१ रनमा आउट भएपछि राप्ती थप दबाबमा आएको थियो।
त्यसपछि ब्याटिङ गर्न आएका कप्तान विनोद भण्डारीले अमितसँग मिलेर टिमको ७४ रन बनाउँदा कप्तान विनोद २१ रनमा आउट भए। अमित पनि २६ रनमा आउट भएपछि राप्तीको विकेट पतन सुरु भयो। त्यसपछि आएका कमलसिंह ऐरीले १६, लोकेश बमले १५, जितेन्द्र मुखियाले ९ र अविनाश बोहराले सात रन बनाए। बलिङतर्फ वाग्मतीका सोमपाल कामी, सागर ढकाल र राशिद खानले समान २–२ विकेट लिए।


























