काठमाडौं, मंसिर २६ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ २०७७ मंसिर २४ गते देखि नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ।
उक्त सुविधा मार्फत ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्धार्थ बैंकस्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्मको रकम निकाल्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त सेवा अन्य बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्। यस सेवाबाट ग्राहकहरुले चेक वा एटिएम नभएपनि बैंक खाताबाट नगद झिक्न मिल्ने छ जसबाट बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ।
हाललाई सो सेवा बैंकको हात्तीसार शाखामा उपलब्ध रहेको र बिस्तारै अन्य शाखाहरुमा पनि उपलब्ध गराउने बैँकको योजना रहेको छ। बैंकले सुरु गरेको यस “स्मार्ट टेलर” सेवाबाट ग्राहकहरुलाई छिटो, छरितो र सहजता उपलब्ध हुने विश्वास लिएको बैंकले जनाएको छ।


























