चितवन । १४औँ चितवन महोत्सवअन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पोको तयारी सकिएको छ। युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवको मुख्य गेटनजिक एक्स्पोको आयोजना गरेको हो। यहाँ नेपालमा उत्पादित वस्तुमात्रै प्रदर्शन गरिएको छ।
एक्स्पोको भोलि (मंगलबार) बिहान ११ बजे आधिकारिकरुपमा उद्घाटन गरिँदैछ। भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गर्नेछन्। एक्स्पोमा ४० वटा स्टल छन्। सोमबार चितवन महोत्सवको उद्घाटन पश्चात भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतले मेड इन नेपाल एक्स्पोको निरीक्षण गरेका थिए।
एक्स्पोमा सबै प्रदर्शक आइसकेको युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए। एक्स्पोमा युवा उद्यमीहरु बीच ‘बिजनेश आइडिया’को विषयमा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट कार्ययोजना पेश गर्ने उद्यमीलाई एक लाख रुपैयाँ राशिद्वारा पुरस्कृत गरिने उनले बताए।
‘नेपाली उत्पादनको प्रबर्द्धन गर्ने उद्देश्यले हामीले छुट्टै एक्स्पो गरिएको हो’, उनले भने, ‘नयाँ उद्यम गर्न चाहनेले पनि यहाँबाट विभिन्न आइडिया लिन सक्नुहुन्छ। स्टार्ट अप १० उद्यमीले एक्स्पोमा स्टल राख्नुभएको छ।’