चितवन । मेड इन नेपाल एक्स्पो २०७९ को अवलोकन गर्नेको संख्या दैनिक बढ्दै गएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार एक्स्पोको अवलोकन गरेपछि शुक्रबार अवलोकनकर्ताको संख्या बढेको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए।
एक्स्पोमा नेपाली उत्पादनको प्रदर्शन गरिएको छ। बिहीबारदेखि एक्स्पोमा उद्यमीहरु बीच छलफल तथा अन्तरक्रिया पनि हुन थालेको छ। शुक्रबार महिला उद्यमीहरु बीच अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी महिला उद्यमीले व्यवसायमा सम्भावना र चुनौती दुवै रहेको बताएका थिए।
यमाहा शो रुम भरतपुरकी प्रोप्राइटर सुनिता कर्मचार्यले हातमा गन्न सकिने महिला मात्रै यस व्यवसायमा लागेको बताइन्। परिवारको सहयोग पाए जस्तोसुकै व्यवसायमा महिला पनि सफल बन्न सक्ने उनी बताउँछिन्। ‘मेरो बिचारमा पुरुषले गर्न सक्ने अनि महिलाले गर्न नसक्ने भन्ने केहि हुँदैन’, उनी भन्छिन्, ‘व्यवसाय गर्न चुनौती छ तर सम्भावना पनि छ। महिला भनेर आत्मबल घटाउनु हुँदैन।’
व्यवसाय गर्नको लागि सरकारले पनि वातावरण बनाउनुपर्ने बताउँछिन्। कोभिड महामारीपछि व्यवसाय सञ्चालनमा समस्या आएको भन्दै उनले व्यवसायी नरहेर सरकार रहन नसक्ने बताइन्। बैंकले बढाएको व्याजदरका कारण व्यवसायी समस्यामा परेको उनको भनाइ थियो।
बिआइसी टेक्नोलोजी–टिगकी संस्थापक प्राथना शाखा १९ वर्षको उमेरदेखि नै हेल्मेट व्यवसायमा लागेकी हुन्। यस व्यवसायमा लाग्दै गर्दा सुरुमा परिवार नै सशंकित बनेको उनले बताइन्। ‘यो जोखिमको काम हो। यो काम गर्न सक्दिनस् भन्नुहुन्थ्यो’, उनी भन्छिन्, ‘तर मैले परिवारलाई कन्भिन्स गर्न सकेँ। नेपालमै पनि व्यवसाय गरेर सफल भइन्छ भन्ने मलाई लाग्छ।’
नव उद्यमीलाई आइपर्ने चुनौतिको हल गर्न नेपाली युवा उद्यमी मञ्चले पनि सहयोग गर्ने गरेको उनी बताउँछिन्। नेपाली उत्पादनको प्रबर्द्धन गर्न र उद्यमीलाई समस्याबाट निकाल्न उद्यमी मञ्च राम्रो प्लेटफर्म भएको उनले बताइन्।
बकेना बालबाटिकाकी संस्थापक प्रन्जना श्रेष्ठ व्यवसाय गर्दा वर्तमान अवस्थालाई मात्रै हेर्न नहुने बताउँछिन्। योजनाअनुसार लगानी हुन सके सफल उद्यमी बन्न सकिने उनले बताइन्। व्यवसायमा आउन सक्ने चुनौतीको पनि आँकलन गर्नुपर्ने उनको भनाइ छ।