काठमाडौं, मंसिर २५ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ। फिफाले बिहिबार सार्वजनीक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ। पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता समेत स्थिर रहेको हो। नेपाल सहितका दक्षिण एसियाली देशले अन्तराष्ट्रिय फुटबल खेल्ने पाएका छैनन्। सोही कारण सबैको वरियता यथावत रहेको छ।
तर बंगलादेश वरियतामा दुई स्थान तल झरेको छ। गत हप्तामात्र बंगलादेशले विश्वकप छनोटमा कतारसंग खेल गुमाएको थियो। सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो। दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ। भारत १ सय ४ औं स्थानमा रहेको छ। नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश १ सय ८६ औं स्थानमा छ। यस्तै, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छ। विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो।
विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन। वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ। पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ।


























