काठमाडौं, मंसिर २४ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरूबाट घेरिएको बताएका छन्। विवेकशील नेपाली दल र साझा पार्टी बीचको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले यस्तो बताएका हुन्। ‘भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा हाम्रो प्रधानमन्त्रीले भ्रष्टाचारीहरू अपराधी भन्नुभएछ। त्यसो हो भने उहाँ अपराधीले घेरिनु भएको छ’ मिश्रले भने।
उनले नेपाल विकसित हुन नसक्नुको पछाडि असक्षम नेतृत्व कारक भएको पनि बताए। उनले यहाँ विचारको राजनीति भन्दा पनि विकासको राजनीति हुनुपर्नेमा जोड दिए।
‘आजसम्म देश नबनेको सक्षम नेतृत्व नभएर हो। बिचार बिना कसरी राजनीति हुन्छ भन्ने सुन्नमा आयो,’ उनले भने, ‘तर, हामी विश्वको राजनीतिवादको राजनीतिबाट धेरै अघि बढेको छ। आमआद्मी पार्टी नजिकै छ । उसको विचार के होरु डेलिभरी बिनाको राजनीति अब असम्भव छ। हाम्रो मुख्य उद्देश्य विकास डेलिभरी नै हो।’
सुशासन, समृद्धिको लागि विवेकशील साझा पार्टी अघि बढेको उनको दाबी छ। देश विकास नहुनुमा भ्रष्ट र अक्षम गणतन्त्रवादी भएको मिश्रको भनाइ छ।मिश्रले विवेकशील साझा पार्टी राजा ल्याउन, फाल्न र संघीयता ल्याउन या फाल्न नआएको भन्दै विकास नै आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताए।


























