मंसिर २४ । च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) राति ९ खेल हुदैछ। प्रतियोगिता अन्तर्गत बुधबार समूह ए, बी, सी र डीका समान दुई तथा समूह एचको एक खेल हुनेछ।
बुधबार सबैको नजर समूह बीको रियल मड्रिडको नतिजामा अडिएको छ। घरेलु लिगसंगै युरोपमा समेत राम्रो प्रर्दशन गर्न नसकिरहेको रियल प्रतियोगिताबाट बाहिरिने खतरा छ। समूह बीमा इन्टर मिलान र शख्तर डोनेस्क तथा रियल मड्रिड र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुदैछ। समूह बीका चारै वटा टोलीको नकआउट चरण पुग्ने गणितिय सम्भावना जिवित छ।
तर नकआउट चरण पुग्न रियल मड्रिडलाई जितको विकल्प छैन। मोन्चेनग्लाडवाचलाई बराबरीको नतिजाले मात्र अन्तिम ६ मा पुर्याउन सक्छ। समूह बीमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाच ८ अंक सहित शीर्ष स्थानमा, शख्तर ७ अंक सहित दोस्रो, रियल ७ अंक सहित तेस्रो र ईन्टर ५ अंक सहित चौथो स्थानमा छ।
यस्तै, समूह एको खेलमा बायर्न म्युनिख र लोकोमोटिभ मस्को तथा साल्जबर्ग र एट्लेटिको मड्रिड भिड्दैछन्। बायर्न समूह विजेताको रुपमा यसअघिनै नकआउट चरण पुगिसकेको छ। मंगलबारको खेलले एट्लेटिको र साल्जबर्गको भाग्य निर्धारण गर्नेछ। एट्लेटिकोलाई नकआउट पुग्न बराबरीको नतिजानै पर्याप्त हुनेछ भने साल्जबर्गलाई जितको विकल्प छैन। शीर्ष स्थानको बायर्नको १३ अंक छ। दोस्रो एट्लेटिकोको ६, तेस्रो साल्जबर्गको ४ र मस्को क्लब ३ अंक सहित पुछारमा छ।
यता, समूह सीको खेलमा म्यान्चेष्टर सिटी र मार्सेली तथा पोर्टो र ओलम्पियाकोसबीच प्रतिस्पर्धा हुनेछ। सिटी समूह विजेता र पोर्टो उपविजेताको रुपमा नकआउट चरण पुगिसकेका छन्। मंगलबारको खेलमा दुवै टोली समूह चरणको सुखद अन्त्य गर्ने मात्र रहनेछ।
उता, समूह डीको खेलमा डच क्लब अजाक्स र एटलान्टा तथा लिभरपुल र एफसी मिडजिल्याण्ड भिड्नेछन्।
प्रिमियर लिग विजेता लिभरपुल यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ। बुधबारको खेलको नतिजाले लिभरपुललाई केही फरक पार्ने छैन। तर अजाक्स र एटलान्टाको खेलको नतिजा समूहका लागि महत्वपूर्ण छ। एटलान्टा ८ अंक सहित दोस्रो र अजाक्स ७ अंक सहित तेस्रो स्थानमा छ। एटलान्टालाई नकआउट चरण पुग्न बराबरीनै पर्याप्त छ। डच क्लबलाई भने जितको विकल्प छैन।
अर्को एक खेलमा खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० र इस्तानबुल बासाकेशिर भिड्ने छन्। समूह एचको खेल मंगलबार रातिका लागि तय थियो। तर ईस्तानबुलको टिममाथि रेफ्रीले रंगभेद गरेपछि खेलाडीले मैदान छाडेका थिए। त्यसपछि खेल स्थगित बनेको थियो। समूह एचमा मंगलबार म्यान्चेष्टर युनाईटेडलाई पराजित गर्दै आरबी आईपेजिग नकआउट चरण प्रवेश गरेको छ। युनाईटेड समूह चरणबाटै बाहिरिएको छ। एजेन्सी


























