काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसले आगामी २९ गते घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको रणनीति बनाउन पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले बिहीबार निजी निवास बूढानीलकण्ठमा बैठक डाकेका हुन्। ‘‘देशका ७७ जिल्लालाई एकीकृत विरोध प्रदर्शनका लागि ‘सर्कुलर’ गरिसकेका छौँ, २९ गते एकैदिन ७७ जिल्लामा विरोध प्रदर्शन हुन्छ,’’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘केन्द्रबाट विरोधमा सहभागी हुन प्रतिनिधि पठाउने नपठाउने भन्ने विषय भोलिको पदाधिकारी बैठकबाट हुन्छ।’’
उनले जिल्लामा रहेका केन्द्रीय सदस्य भने निर्णय नभए पनि विरोध प्रदर्शनको नेतृत्व गर्ने भए पनि केन्द्रबाटै प्रतिनिधि तोक्ने नतोक्ने भन्ने विषय भने बैठकबाट नै तय हुने जानकारी दिए। गत बुधबार तनहुँमा पुल उदघाटन जाँदै गर्दा वरिष्ठ नेता पौडेलमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएपछि कांग्रेस आक्रोसित बनेको थियो। त्यसको जवाफ भोलिपल्ट नै पौडेलबाटै पुलको उद्घाटन गर्नुका साथै तनहुँमा विरोध प्रदर्शन समेत भएको थियो।
लगत्तै शुक्रबार पदाधिकारी बैठक बसेर वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहारले सरकारको अधिनायकवादी चरित्र उदाङ्गिएको भन्दै अन्य विषयसमेत जोडेर आगामी २९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
त्यही निर्णय अनुरुप केन्द्रीय कार्यालयले कोरोना व्यवस्थापनमा सरकारको लापरवाही, भ्रष्टाचार बढाउने काम र भ्रष्टाचारीको संरक्षण गर्ने काम तथा सत्ताको दुरुपयोग गर्ने अधिनायकवादी शैलीविरुद्ध विरोध प्रदर्शन गर्न जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरिसकेको छ।


























