काठमाडौं, मंसिर २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले खेलको उत्तरार्धमा आएर नियम परिवर्तन गरेर जसरी पनि जित्ने प्रयास गरिएको बताएका छन्। उनले स्थायी कमिटीका सदस्यहरुलाई एक पत्र पठाइ यस्तो बताएका हुन्।
“तर मलाई थाहा थिएन– खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। आज पनि म दोहोर्याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ,” उनले भनेका छन्, “सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु।”


























