उदयपुर, मंसिर १८ । चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा उदयपुरको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्षको जेल सजाय भएको छ। बुधबार उदयपुर जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजायको फैसला गरेको हो।
अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई भने सजायमुक्त गरेको गरिएको छ। विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो। जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए। रासस


























