तनहुँ, मंसिर १७ । तनहुँको व्यास नगरपालिकामा निर्माण भएको मोटरेबल पुल उद्घाटन विवादमा परेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्ने भएपछि नेकपा तनहुँ र नेकपा निकट राष्ट्रिय युवा संघले विरोध गरेको थियो। युवा संघले विरोधका कार्यक्रमहरु तय गरेका र त्यसबाट झडप हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले बुधवार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। साथै विरोध प्रदर्शन पछि पुल उद्घाटनलाई समेत स्थगित गर्न प्रशासनले आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै भने, “तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं.१ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न. १६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको छ।”
प्रशासनले विज्ञप्ति जारी गर्दै पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिकाको वडा नं.१ र १० मा राजमार्गमा चल्ने सवारी बाहेक गल्फुबेसी, बुुल्दीखोला पुल, घाँसीकुवा सहितका क्षेत्रमा ५ जना भन्दा बढि व्यक्ति भेला हुन नपाउने र भेला भएको खण्डमा स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने आचार्यले जानकारी दिए।
यता, कांग्रेसले भने पूर्व निर्धारित कार्यक्रम नरोकिने जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय प्रशासनले फट्याईँ गरेको आरोप लगाएका छन्।
यसै क्रममा कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।



























