चितवन, मंसिर १५ । भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ। आज (सोमबार) महानगरपालिकाको वडा नम्बर ५ स्थित नारायणपुरमा तीनतले कार्यालय भवनको शिलान्यास भएको हो।
भवनको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन्। प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिङ्करोड लगायतका काम धमाधम अगाडि बढिरहेको बताउँदै वडा कार्यालयहरु वडावासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताए।


























