काठमाडौं, मंसिर १५ । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुग्न आँटेको छ। प्राय विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताएका छन्।
एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए। साझाले केन्द्रिय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ भने विवेकशीलले आफ्नो तल्ला कमिटीहरुसम्म नै प्रस्तावमाथि मतदान गराएको थियो। पार्टीका दुईतिहाई सदस्यले एकताको प्रस्तावमा मतदान गरेका छन्।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने अनौपचारिक समझदारी बनेको स्रोतले बतायो। यसैगरी विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने स्रोतको दावी छ।
यसअघिको एकता प्रस्तावमा दुई संयोजक रहने भनिएको थियो। तर, यसले राम्रो सन्देश नजानसक्ने भन्दै अध्यक्ष र संयोजकको नयाँ समझदारी गरिएको हो। यस समझदारीअनुसार पहिलेको प्रस्तावमा संसोधन गरेर साझाले केन्द्रीय कमिटीबाट पारित गराइसकेको छ भने विवेकशीलले पारित गर्न बाँकी छ।
विवेकशीलका एक नेताले अध्यक्षलाई बढि सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए।


























