काठमाडौं, मंसिर १४ । मनोज कटवाल राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कटवाल सहायक प्रशिक्षकको रुपमा नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल भएको जनाएको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी मनोजले यस अघि पनि टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन्। नेपाली टिमले जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो। नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्किएको हो।
यस्तै क्यानले कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा सामेल भएको समेत जनाएको छ। बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो। जसको कारण उनीहरु टिममा सामेल भएका थिएनन्। क्यानले बन्द प्रशिक्षणका लागि २७ खेलाडीलाई बोलाएको छ।


























